भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२१ पर्बतचोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको बा. प्र. ०२-०५८ प ७७१५ नम्बरको मोटरसाइकलले पर्बतचोकबाट पार्बतिपुरतर्फ आउँदै गरेको बा.प्र. ०२-०५० प ८०४० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८०४० नम्बरको मोटरसाइकलमा सवार लमजुङ घर भई हाल भरतपुर–२१ बस्ने २८ वर्षीया गंगामाया रिमाल रावल गम्भीर घाइते भएकी छन् । टाउको, आँखा र खुट्टामा गम्भीर चोट लागेकी उनको टाउकाको शल्यक्रिया भइसकेको र खुट्टाको शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।
सोही मोटरसाइकलका चालक २१ वर्षीय सुबास रिमालको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने पछाडि सवार गंगामायाका १ वर्षीय छोरा गृस रावलको नाकमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
यस्तै, ७७१५ नम्बरको मोटरसाइकल चालक धनुषा घर भई हाल भरतपुर–१० बस्ने २५ वर्षीय अमन सुवेदी पनि घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको छ ।
घाइते सबैको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाग्रस्त दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

