बागलुङ । जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले बागलुङको अन्तिम अँध्यारो बस्ती निसेलढोरमा केन्द्रीय प्रसारण लाइन पुर्याउने प्रक्रिया अघि बढाएको छ।
ढोरपाटन नगरपालिका–९ स्थित नवीसम्म ११ केभीको केन्द्रीय लाइन पुगिसकेको र अब त्यहाँबाट निसीखोला गाउँपालिका–५ को निसेलढोरसम्म विद्युत् विस्तार गर्न लागिएको हो।
निसेलढोरमा बस्ती लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि कुल २ करोड ५९ लाख ३९ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणबाट ७७ लाख रुपैयाँ मात्र विनियोजन भएको छ।
विनियोजित बजेटले आयोजना सम्पन्न गर्न नपुग्ने भएकाले थप १ करोड ८२ लाख रुपैयाँ माग गरिएको विद्युत् वितरण केन्द्र बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिए । 'कामलाई निरन्तरता दिन र एकमुष्ठ रूपमा ठेक्का (टेन्डर) प्रक्रियामा लैजान थप बजेट माग गरिएको छ,' मरासिनीले न्यूज खरीसँग भने, 'हाल बजेट स्वीकृतिको चरणमा छ।'
उनका अनुसार बजेट स्वीकृतिका लागि फाइल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पुगेको छ ।
निसेलढोरवासी अझै टुकीकै भरमा
नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन क्षेत्रभित्र पर्ने निसेलढोरमा खानेपानी र सडक पुगे पनि केन्द्रीय विद्युत् भने पुग्न सकेको छैन। झण्डै तीन सय घरधुरी रहेको यस गाउँमा पछिल्लो समय बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ।
केही सम्पन्न परिवारले सोलार प्यानल प्रयोग गरे पनि अधिकांश स्थानीय अझै टुकी र दियालोकै भरमा रात बिताउन बाध्य छन्। स्थानीय पानकुमारी विकका अनुसार नेपाल टेलिकमको टावर भए पनि बिजुली नहुँदा मोबाइल चार्ज गर्न दुई घण्टा पैदल हिँडेर ढोरपाटन–९ भुजी पुग्नुपर्ने बाध्यता छ।
निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् सेवा पुर्याउन नेपाल विद्युत प्राधिकरणसँग समन्वय भइरहेको बताए । '७७ लाख विनियोजन भएको रकमले काम गर्न नसकिने भएपछि थप बजेट माग गरिएको छ । उनले भने, बजेट आएपछि पूर्णरुपमा ठेक्का आव्हान गरि काम अगाडी बढ्छ ।' निसेलढोरमा केन्द्रीय लाइन जोडिएसँगै बागलुङ जिल्ला पूर्ण रूपमा विद्युतीकरण हुनेछ।

