त्रिपुरेश्वरमा बस आगजनी प्रकरण : ७ सदस्यीय छानबिन समिति गठन

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार घटनाको अनुसन्धान तथा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।

त्रिपुरेश्वरमा बस आगजनी प्रकरण : ७ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार घटनाको अनुसन्धान तथा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य छन्।

प्रशासनका अनुसार सोमबार बिहान करिब १०ः४७ बजे काठमाडौं महानगरपालिका–११ स्थित त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदै गरेको रिद्धिसिद्धि यातायातको बा।५ ख ४२७४ नम्बरको बसका चालक दावा लामासँग ट्राफिक नियम उल्लंघन गरेको विषयमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम पुर्जी काट्ने क्रममा विवाद भएको थियो। त्यसपछि बसलाई पार्किङ बेमा लगेर रोकिएको अवस्थामा आगजनी भएको हो।

छानबिन समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा सूचना संकलन र विश्लेषण गर्नेछ। त्यस्तै, घटनास्थल प्रत्यक्ष देखेका तथा घटनाबारे जानकारी भएका व्यक्तिसँग सोधपुछ गरी बयान लिने र घटनास्थल वरपरका सीसीटीभी फुटेज अध्ययन तथा विश्लेषण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

बस पार्किङ बेमा रोकिएको समयदेखि आगजनी भएको समयसम्मको टाइमलाइन तयार गरी घटनाक्रमको तथ्यगत विश्लेषण गर्ने समितिको कार्यादेशमा उल्लेख छ।

त्यसैगरी, आगजनीबाट गम्भीर घाइते भएका चालक लामाको पृष्ठभूमि तथा अन्य प्रमाणिक विवरणसमेत अध्ययन गरिनेछ। लामाको मोबाइल वा उनीसँगबाट प्राप्त हुन सक्ने भिडियो, म्यासेज तथा घटनासँग सम्बन्धित व्यक्तिसँग भएको सम्पर्क र कल डिटेलसमेत छानबिनको दायरामा राखिएको छ।