असोज ९ देखि ११ सम्म भीषण वर्षा र हिमपात हुने सम्भावना देखियो

साथै मधेस प्रदेश तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ/हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

असोज ९ देखि ११ सम्म भीषण वर्षा र हिमपात हुने सम्भावना देखियो

काठमाडौं । उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा आउने बुधबारदेखि वर्षा हुने क्रम बढ्दै जाने र शुक्रबारदेखि देशका विभिन्न स्थानमा हुरीसहित ठुलो वर्षा हुने सम्भावना देखिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज सोमबार अपराह्न विशेष मौसमी बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ-हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको हो।

साथै मधेस प्रदेश तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ/हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

मौसम महाशाखाका उक्त अवधिमा अनुसार देशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

विशेष बुलेटिनअनुसार उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारबाट नै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ।

बुलेटिनमा अगाडि भनिएको छ, ‘तसर्थ सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। हाल केही स्थानबाट धानबाली भित्र्याउन मौसम सम्बन्धि जानकारी माग भएकाले सम्बन्धित कृषि विज्ञको सल्लाहमा कार्य गर्नु हुन अनुरोध गरिन्छ। साथै उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।’