सशस्त्रका सईको हत्याका अभियुक्तलाई प्रहरीले २२ महिनापछि गोली हानेर समायो

घटना विवरणअनुसार २०८१ सला मंसिर १६ गते भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले गाडी रोकेर जाँच गर्न खोजेको थियो।

सशस्त्रका सईको हत्याका अभियुक्तलाई प्रहरीले २२ महिनापछि गोली हानेर समायो

काठमाडौं । ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को हत्या गरेर फरार भएका एक अभियुक्तलाई सिराहा प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रमेशबहादुर पालले जानकारी दिए। सिराहाको बरियारपट्टी गाउँपालिका १ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटना विवरणअनुसार २०८१ सला मंसिर १६ गते भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले गाडी रोकेर जाँच गर्न खोजेको थियो।

त्यसक्रममा डीएल ५ सीजे ७१७१ नम्बरको गाडीले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यसहित ठक्कर दिएर गाडी चालक मंसुरी फरार भएका थिए।

सई यादवको घटनास्थलमै हत्या गरेर भागेका उनलाई प्रहरीले २२ महिनापछि पक्राउ गरेको हो । घटनाका मुख्य अभियुक्त टाटा सफारी धनी तथा चालक मंसुरीलाई असोज ३ गते साँझ करिब ७:१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिने क्रममा मोहम्मद कुर्बानसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड फायरसमेत गरेका थिए।

प्रहरीले जवाफी कारबाहीका क्रममा तीन राउन्ड गोली चलाउँदा मुख्य अभियुक्त कुर्बानको बायाँ हातको कुहिना तथा दाहिने खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ । कुर्बानलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिराहामा भर्ना गरेको छ।