काठमाडौं । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालबाट इजरायलमा ‘केयरगिभर’ (सुसारे) का रूपमा रोजगारीमा पठाइदिने प्रलोभन देखाई करिब साढे दुई करोड रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम भजाएर ठगी गर्ने कार्यमा संलग्न पक्राउ परेका व्यक्तिहरू भरत चौलागाईं र बालिका सिवाकोटी हुन् । ५९ वर्षीय चौलागाईं रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं. १ निवासी हुन् भने ३२ वर्षीय सिवाकोटी दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ८ निवासी हुन् ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको ‘जीटुजी’ सम्झौता अनुसार सन् २०२४ मा इजरायलमा केयरगिभर पठाउन लिइएको परीक्षामा सहभागी भएका तर ‘लक्की ड्र’ मा नाम ननिस्किएका १५६ जना परीक्षार्थीहरूलाई उनीहरूले निशाना बनाएका थिए ।
चौलागाई र सिवाकोटीले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारसँग पहुँच रहेको र उनको नाम तथा पद प्रयोग गरी इजरायल पठाइदिने विश्वास दिलाएका थिए । उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम माग गरी पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ असुल गरी ठगी गरेको खुलेको छ ।
आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई मिति २०८३ असोज १ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ बमोजिम ठगी सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ ।
काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

