काठमाडौं । प्रभु बैंक लिमिटेडले प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित भई काठमाडौंस्थित पहेंलो गुम्बामा आश्रय लिइरहेका परिवारका लागि सहयोग स्वरूप बंक बेड हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुम्बालाई ६ थान बंक बेड उपलब्ध गराएको हो।
पछिल्लो समय देशमा आएको बाढीपहिरोका कारण घरबारविहीन भएका परिवारहरू हाल पहेंलो गुम्बामा आश्रित छन्। उनीहरूको तत्कालको आवश्यकता पहिचान गर्दै बैंकले उक्त सहयोग गरेको जनाएको छ। यस सहयोगले आश्रयस्थलमा बसिरहेका प्रभावित परिवारको बसाइमा थप सहजता पुग्ने बैंकको विश्वास छ।
यसअघि पनि प्रभु बैंकले विपद् प्रभावितहरूको राहत र उद्धारका लागि महत्त्वपूर्ण योगदान गर्दै आएको छ। विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ बैंकले संस्थागत रूपमा २ करोड ११ लाख ११ हजार १११ र सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट स्वेच्छिक रूपमा संकलित ४० लाख ८० हजार ५० गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ।
त्यस्तै, बैंकले नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावितहरूलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग समेत उपलब्ध गराएको थियो। घाइतेहरूको उपचारमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभु बैंकले आगामी दिनमा पनि राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

