बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ, जयपृथ्वी नगरपालिका–०३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेकी छन्।
पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फाली पशुपन्छीप्रति अत्यन्तै निर्दयी व्यवहार देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो बाहिरिएपछि घटनाबारे तीव्र आक्रोश व्यक्त भएको थियो ।
घटना सार्वजनिक भएसँगै सुरु गरिएको अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला रोकाया नै रहेको खुलेको प्रहरीले जनाएको छ । पहिचान खुलेसँगै रोकायालाई १ गते बेलुकी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी रोकायामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

