अर्थमन्त्री डा. वाग्ले भारत प्रस्थान

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. वाग्ले भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. वाग्लेले आज साँझ ५ः०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । साथै शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । भोलि साँझ ५ः०० बजे भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ताको कार्यक्रम छ ।

शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसैगरी, शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । भने सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ ४ः०० बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन् ।