बाढीपीडितको सहयोगका लागि प्रभु बैंकद्वारा रक्तदान तथा २ करोड ५० लाख बढीको राहत सहयोग

साथै, बाढीबाट प्रत्यक्ष प्रभावित परिवारहरूका लागि बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग समेत वितरण गरेको छ।

बाढीपीडितको सहयोगका लागि प्रभु बैंकद्वारा रक्तदान तथा २ करोड ५० लाख बढीको राहत सहयोग

काठमाडौं । देशमा आएका प्राकृतिक प्रकोप तथा विनाशकारी बाढीका घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध राहत तथा सहयोग कार्यक्रमहरू सम्पन्न गरेको छ।

बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भदौ ३० गते देशका सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रीय कार्यालय बबरमहलसहित नारायणगढ (चितवन), विराटनगर (कोशी), सिमरा (मधेश), अमरसिंहचोक पोखरा (गण्डकी), बुटवल (लुम्बिनी), सुर्खेत (कर्णाली) र धनगढी (सुदूरपश्चिम) गरी ८ वटा शाखाहरूमा आयोजित उक्त कार्यक्रमबाट कुल ३२१ पिन्ट रगत संकलन भएको छ।

यसअघि पनि बैंकले बाढी प्रभावित तथा घरबारविहीन परिवारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल २ करोड ५१ लाख ९१ हजार १६१ रुपैयाँ हस्तान्तरण गरिसकेको छ। जसमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २ करोड ११ लाख ११ हजार १११ र बैंकका सञ्चालक तथा कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलित ४० लाख ८० हजार ५० रुपैयाँ रहेको छ।

साथै, बाढीबाट प्रत्यक्ष प्रभावित परिवारहरूका लागि बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग समेत वितरण गरेको छ।

प्राकृतिक विपद्‌मा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रभु बैंकले बेपत्ताहरूको शीघ्र उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावित समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ। बैंकले आगामी दिनमा पनि विपद्‌ व्यवस्थापन, उद्धार र पुनःस्थापनाका कार्यहरूमा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।