शेरचन देउवा पक्षमा लागेपछि कांग्रेस बागलुङको कार्यवाहक सभापतिमा पौडेल

जिल्ला सभापति शेरचन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीसमेत छन् । उनी देउवा पक्षमा उभिँदै आएका छन् ।

शेरचन देउवा पक्षमा लागेपछि कांग्रेस बागलुङको कार्यवाहक सभापतिमा पौडेल

बागलुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बागलुङ जिल्लाको कार्यवाहक सभापतिमा तारानाथ पौडेललाई तोकेको छ । सभापति जीतबहादुर शेरचनले १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि नबढाएपछि पौडेललाई कार्यवाहक सभापति तोकेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया शेरचनले अघि नबढाएको भन्दै उपसभापति पौडेललाई जिम्मेवारी दिएको महामन्त्री गुरुराज घिमिरेले बताए । जिल्ला सभापति शेरचन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीसमेत छन् । उनी देउवा पक्षमा उभिँदै आएका छन् ।

‘नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) बमोजिम तपाईंलाई १५ औं महाधिवेशन अन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न जिल्लाको कार्यवाहक सभापतिको रुपमा कामकाज गर्ने गरी विशेष जिम्मेवारी तोकिएको छ । निर्वाचन समितिसँग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’ महामन्त्री घिमिरेले कार्यवाहक सभापति पौडेललाई सम्बोधन गरेर लेखेको पत्रमा उल्लेख छ ।

बुधबार पौडेलकै अध्यक्षतामा जिल्ला कार्यसमितिको बैठक बसेको हो । बैठकले वडादेखि केन्द्रीय महाधिवेशनलाई सफल बनाउन एकताबद्ध भएर लाग्ने निर्णय गरेको पौडेलले बताए ।