काठमाडौं । भोटेकोसी बाढीबाट क्षतिग्रस्त बनेको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहभित्र चार जनाको शव र एउटा मानव अंग फेला परेको छ।
बाढीको २२औं दिनमा सुरुङभित्र शव भेटिएको हो। गोताखोरसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा बिहीबार चार वटा शव र एउटा मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ।
बुधबार संयुक्त उद्धार टोली आयोजनाको भूमिगत विद्युत्गृहमा पुगेको थियो। सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा शव भेटिएको सेनाले जनाएको छ। शव र मानव अंगलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव र एउटा मानव अंग फेला परेको थियो।
भोटेकोसी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाबाट ६ जना सम्पर्कविहीन भएका थिए। उनीहरू सुरुङभित्र थुनिएको आकलनका आधारमा खोज तथा उद्धार थालिएको थियो।
चिलिमे जलविद्युत कम्पनीका सचिव नारायणप्रसाद आचार्यका अनुसार निकालिएका शवलाई त्रिशूली ल्याइएको छ। विद्युतगृहभित्र ६ जना रहेको अनुमान गरिएको भए पनि चार शव र एउटा मानव अंग फेला परेको हो।
विद्युतगृहमा पाँच जना जलविद्युत केन्द्रका कर्मचारी तथा एक जना नेपाल विद्युत प्राधिकरणबाट गेटमा खटिएका कर्मचारी थिए।
शवहरूको पहिचान हुन सकेको छैन। विद्युतगृहभित्र थुनिएका अनुमान गरिएको परिवारका सदस्यलाई त्रिशूली बोलाइएकाले बिहीबार मात्रै पहिचान गर्ने प्रक्रिया अघि बढाइने आचार्यले जानकारी दिए।
बाढीले पहुँच सडक बगाउनुका साथै जलविद्युत केन्द्रको विद्युतगृहसम्म पुग्ने पहुँच सुरुङ हिलो, लेदो, ठूला ढुंगा तथा काठका टुक्रा थुपारेको हुँदा स्याफ्रुबेंशीदेखि पहुँच सडक निर्माण गरी मेसिनरी उपकरण लगेर खोजी गर्दा २२औं दिनमा मात्रै भित्र फसेकाहरूसम्म पुग्न सकिएको हो।

