काठमाडौं । रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्ति पक्राउ परेका छन्।
अनुगमन गर्दै आफ्नै गाउँपालिका पुगेपछि झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा पक्राउ परेका हुन्। सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण शैलीमा व्यवहार गरेका उनलाई पक्राउ गरी प्रहरीले पाँच दिनको म्याद थप गरेको छ।
प्रहरीका अनुसार विश्वकर्माले आफू सत्तारुढ दल रास्वपाको नेता भएको र प्रधानमन्त्रको सचिवालयमा रहेको बताएपछि सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकहरूमा पहुँच पाएका थिए।
प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयले उनलाई अनुगमनका लागि गाडीसमेत उपलब्ध गराएका थियो। सरकारी गाडी लिएर उनी सरकारी कार्यालय अनुगमनका लागि पुगेको प्रहरी स्रोत बताउँछ।
हल्दिबारी गाउँपालिका पुगेर फर्किएपछि उनी पक्राउ परेका हुन्। उनको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा पनि नभएको जानकारी पाएपछि पक्राउ गरेको थियो ।

