काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबारबाट एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो ।
प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए । छलफल सकेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
“बैंकिङ कसुर मुद्दा अदालतमा दायर भइसकेको, अदालतमा जानुपर्थ्यो, गएको रहेनछन् । हामीले अदालतमा उपस्थित हुन पठाइदिएका छौँ,” काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-३ घर भएका तामाङ काठमाडौं महानगरपालिका १६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटर हुन् ।

