काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिए ।
जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको हो । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
उनले भने, ‘विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौँ । तयारी सकिएपछि निर्णय लिनेछौँ ।’
कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको उनले बताए । ‘विज्ञहरूसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ । अध्ययन गरिरहेका छौँ । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौँ,’ उनले भने ।
मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।
इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् । कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल छन् ।

