बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका थिए । देवीका परिवारले त्यो दिन त्यसै गरे । पालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्यो ।
पैँतिस वर्षीया देवीले गाउँकै हिल स्वास्थ्य चौकीमा सोही रात तेस्रो सन्तानलाई जन्म दिइन् । यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किएकी देवी यसपटक पालिकाको एम्बुलेन्सले नै घर पुर्याइदियो ।
ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । पालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना लाभान्वित भएका छन् ।
गाउँपालिकाका गर्भवती र सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरि अस्पताल र पोखरा, अस्पतालबाट घरसम्म पु¥याउने प्रबन्ध मिलाइएको पालिकाका अध्यक्ष धनबहादुर विकले बताए ।
गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले एम्बुलेन्स प्रदान गरेका थिए । २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म सहज भएको छ ।
स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ भने गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।

