काठमाडौं । नेकपा (एमाले) भित्र चुनावी पराजयको समीक्षालाई लिएर मतभेद चुलिएका बेला उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको इतिहास, संस्थागत निर्णय र अध्यक्ष केपी शर्माको नेतृत्वको बचाउ गर्दै ३९ पृष्ठ लामो काउन्टर प्रतिवेदन तयार पारेका छन्।
‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा (एमाले) को साझा सङ्कल्प’ शीर्षक दिइएको उक्त दस्ताबेज शुक्रबार बस्ने कार्यदलको बैठकमा पेस गरिँँदैछ । यसअघि कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेलले तयार पारेको मस्यौदाले पार्टी अध्यक्ष केपी शर्मा ओली र संस्थापन पक्षलाई मात्र चुनावी हारको जिम्मेवार ठहर्याउँदै नेतृत्व विस्थापनको बहस छेडेपछि ओलीकै निर्देशनमा बादलले त्यसलाई पूर्ण रूपमा खारेज गर्दै नयाँ प्रतिवेदन ल्याएका हुन्।
प्रतिवेदनमा बादलले एमालेमाथि चौतर्फी प्रहार भइरहेका बेला पार्टीकै नेताहरूबाट नेतृत्वको अवमूल्यन हुनु दुःखद भएको उल्लेख गरेका छन्। गत फागुन २१ को चुनावी परिणामलाई एमालेको सैद्धान्तिक वा सांगठनिक असफलता नभई भदौ २३ र २४ को हिंसात्मक उपद्रव, संसद्को असंवैधानिक विघटन र विदेशी शक्तिकेन्द्रको योजनामा रचिएको ‘रङ्गक्रान्ति’ (कलर रिभोल्युसन) को परिणामका रूपमा व्याख्या गरिएको छ।
प्रतिवेदनमार्फत बादलले एमालेले विगतमा पनि यस्ता थुप्रै धक्का र प्रतिकूलताहरू बेहोरेर पुनः ऐतिहासिक पुनरागमन गरेको दृष्टान्त दिएका छन्। २०१५ सालको चुनावमा संस्थापक पुष्पलाल पराजित हुँदा होस् या २०६४ को संविधानसभामा पार्टी ३३ सिटमा खुम्चिँदा, एमाले आफ्नो धरातलबाट कहिल्यै विचलित नभएको स्मरण गराउँदै उनले एउटा निर्वाचनको परिणामले एघारौँ महाधिवेशनको सार्वभौम म्यान्डेट र पार्टीको वजनलाई समाप्त पार्न नसक्ने स्पष्ट पारेका छन्।
साथै, लोकतान्त्रिकरणका नाममा एमालेलाई अनुशासनहीन ‘मास पार्टी’ बनाउने र ७० वर्षे उमेरहदजस्ता कृत्रिम प्रावधान ब्युँझाउने प्रयासलाई दक्षिणपन्थी तथा पपुलिस्ट भड्काव भन्दै प्रतिवेदनले अस्वीकार गरेको छ।
पार्टी रक्षाका लागि आन्तरिक आरोप(प्रत्यारोप र नेतृत्व विस्थापनको खेल बन्द गरी अब हुने स्थानीय र प्रदेश निर्वाचनको तयारीमा सिंगो पंक्तिलाई ओलीकै नेतृत्वमा एकताबद्ध भएर जुट्न बादलको प्रतिवेदनले आह्वान गरेको छ।

