काठमाडौं । खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिइन् । उनको स्थानमा सुनसरी ४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् । साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् ।
पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले यसबीचमा चार वटा पार्टी चहारिसकेका छन् । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथि साह रास्वपा सांसद हुँदै मन्त्री पदमा पुगेका छन् ।
पेसाले इन्जिनियर साहले जनमत पार्टी गठन गर्न राउतलाई ठूलो सहयोग गरेका थिए । दुवैको अध्ययनको क्षेत्र इञ्जिनियरिङ हुँदा साह र राउत नजिकिएका थिए । जनमत गठनपछि साह उच्च तहका दुई पद उपाध्यक्ष र अनुशासन समितिको प्रमुख बने ।
सुरुमा जनमतले केन्द्रीय कार्यालय साहको भक्तपुरस्थित घरमा राखेको थियो । सूर्यविनायक ३, भक्तपुरमा रहेको साहको घरको भुइँ तलामा जनमतको सुरुवातकालीन पार्टी कार्यालय थियो ।

