काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित र प्रभावित भएका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले प्रत्यक्ष राहत सामग्री उपलब्ध गराएको छ।
बैंकले थप सहयोग स्वरूप १०० थान टेन्ट (त्रिपाल) तथा १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत सम्बन्धित बाढीपीडितहरूलाई वितरण हुने गरी हस्तान्तरण गरेको छ।
एक विशेष कार्यक्रमका बीच प्रभु बैंक लिमिटेडका प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे।
यसअघि पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ।
अकल्पनीय प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। साथै, प्रभावित समुदायप्रति बैंक परिवारले गहिरो समवेदना प्रकट गरेको छ।

