काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्क ठप्प बनेको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन सेनाले पाँच दिनअघि पुल जडानको काम सुरु गरेको थियो । सेनाको टोलीले निरन्तर खटिएर बुधबार राति पुल जडानको काम पूरा गरेको हो ।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारीसाधनसमेत सञ्चालनमा आउने भएका छन् ।
यसअघि भोटेकोशीको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई राहत मिलेको छ ।

