एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्कोको ग्यास लिन पाइने, मन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ ।

एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्कोको ग्यास लिन पाइने, मन्त्रीको निर्देशन

काठमाडौं । हालैको बाढीपहिरोले आपूर्ति प्रणाली प्रभावित भई काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले सहज आपूर्तिका लागि नयाँ वैकल्पिक व्यवस्था लागू गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ ।

बाढीका कारण बजारमा सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्न र उपभोक्तालाई राहत दिन मन्त्रालयले यस्तो नियम ल्याएको हो । यो व्यवस्थाअनुसार उपभोक्ताले आफूले नियमित प्रयोग गर्दै आएको ब्रान्डको ग्यास नपाएको अवस्थामा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर तोकिएकै मूल्यमा उपलब्ध ब्रान्डको ग्यास खरिद गर्न सक्नेछन् ।

आपूर्ति सहज नभएसम्मका लागि यो अस्थायी व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने मन्त्रालयले जनाएको छ। मन्त्री यादवले यो निर्णय तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई कडा निर्देशन दिएकी छन्।

साथै, यस्तो विषम परिस्थिति र संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सरकारको निर्देशनविपरीत काम गर्ने जो(कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।