बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याट वानवेबद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वानवेबसँगको सहकार्यमा भदौ २० गतेदेखि निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।

बाढी प्रभावित क्षेत्रमा डिशहोम र युटेलस्याट वानवेबद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

काठमाडौं । सुरुभोटेकोशी नदीमा आएको भीषण बाढीका कारण गत भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि डिश मिडिया नेटवर्क लिमिटेडले प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर गराउन विशेष पहल थालेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वानवेबसँगको सहकार्यमा भदौ २० गतेदेखि निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।

स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त बनेका स्थलगत दूरसञ्चार पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ। प्राकृतिक विपद्का बेला उद्धार तथा राहत कार्यका लागि भरपर्दो सञ्चार माध्यम अत्यावश्यक हुने भएकाले हाल बाढीबाट बढी प्रभावित क्षेत्रका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र समन्वय केन्द्रहरूमा यो सेवा प्राथमिकताका आधारमा उपलब्ध गराइएको छ।

यस प्रविधिले स्थानीय प्रशासन, उद्धारकर्मी र मानवीय सहायतामा संलग्न निकायहरूबीच वास्तविक समयको समन्वय तथा सूचना आदान प्रदानलाई निरन्तरता दिन ठूलो सहयोग पुर्‍याउनेछ। डिशहोमका अनुसार भौतिक पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकता अनुसार अन्य उच्च प्राथमिकतामा रहेका स्थानहरूमा पनि स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै लगिनेछ।