काठमाडौं । एम।भी। दुगड ग्रुपले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट भएको ठुलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगड ले संयुक्त रूपमा उक्त रकमको चेक माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका हुन्।
सहयोग रकममा एम.भी. दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक योगदानसमेत समेटिएको छ।
ग्रुपले विपद्का कारण ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाले गरिरहेको प्रयासप्रति सम्मान व्यक्त गर्दै ग्रुपले विपद्को कठिन घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउन सहयोग गरिएको जनाएको छ।
एम.भी. दुगड ग्रुपले विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

