क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ

सखुवाप्रसौनी गाउँलपालिकाका अध्यक्ष यादवको घर वडा नम्बर ६ मा हो भने पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पौडेलको घर स्याङ्जाको हरिनास गाउँपालिका ७ हो।

क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जस्थित क्यासिनोमा जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका १४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

‘गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित पक्राउ गरिएका सबै हाल हिरासतमा छन्’, जिल्ला प्रहरी कार्यालय पर्साका अर्का डीएसपी राजु कार्कीले भने, ‘थप अनुसन्धान गरिरहेका छौँ।’

सखुवाप्रसौनी गाउँलपालिकाका अध्यक्ष यादवको घर वडा नम्बर ६ मा हो भने पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पौडेलको घर स्याङ्जाको हरिनास गाउँपालिका ७ हो।

उनीहरूसँगै क्यासिनोबाट प्रहरीले सखुवाप्रसौनी गाउँपालिका ६ का वर्ष ३० का चन्दन सहनी, वीरगन्ज ११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई पक्राउ गरिएको जनाएको छ।

यस्तै त्यही क्यासिनोका कर्मचारीहरू वीरगन्ज १४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज २५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका ५ घर भई हाल उक्त क्यासिनोमा काम गर्ने वर्ष ४९ का जयदेव साह र वीरगन्ज १२ बस्ने वर्ष ५० का प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।