बागलुङमा एमाले, नेकपा र राष्ट्रिय जनमोर्चाको बैठक : होला त निर्वाचनमा तालमेल ?

शनिवार गलकोटमा बसेको बैठकले विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनमा सहकार्य, समन्वय र संयुक्त पहलकदमीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बागलुङमा एमाले, नेकपा र राष्ट्रिय जनमोर्चाको बैठक : होला त निर्वाचनमा तालमेल ?

सुवास गौतम, बागलुङ । २०५१ सालको मध्यावधि निर्वाचनदेखि नै कहिले चुनावी तालमेल, कहिले कुटाकुट र कहिले चाटाचाट गर्दै आएको बागलुङको वाम राजनीति फेरि सहकार्यको मोडमा उभिएको छ । पछिल्लो निर्वाचनको परिणामले दिएको धक्का र केन्द्रदेखि प्रदेशसम्म बदलिँदो राजनीतिक समीकरणबीच नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा बागलुङमा पुनः सहकार्यको आधार खोज्दै एउटै टेबलमा बसेका छन् ।

केन्द्रमा तीन वाम शक्तिका शीर्ष नेताबीच सहकार्य गर्ने सहमति भएको करिब एक महिनापछि बागलुङका नेताहरूले पहिलोपटक संयुक्त बैठक गरेका हुन् । शनिवार गलकोटमा बसेको बैठकले विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनमा सहकार्य, समन्वय र संयुक्त पहलकदमीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

केन्द्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेको सहमति पत्रमा लुम्बिनी प्रदेश सरकार गठन तथा विकास निर्माणका कार्यक्रममा सहकार्य गर्ने र राष्ट्रिय स्वाधीनता, संविधान तथा गणतन्त्रको पक्षमा एवं प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने उल्लेख छ ।

सोही सहमतिको स्थानीय कार्यान्वयनको आधार खोज्दै बागलुङमा भएको बैठकमा तीनै दलका नेताहरू सहभागी भएका थिए । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य फुमलाल निउरेको संयोजकत्वमा गलकोटमा बैठक बसेको हो ।

बागलुङमा वाम शक्तिहरूबीचको सहकार्य नयाँ विषय होइन । २०५१ सालको मध्यावधि निर्वाचनदेखि विभिन्न निर्वाचनमा वाम दलहरूले चुनावी तालमेल गर्दै आएका छन् । कतिपय निर्वाचनमा तालमेलकै बलमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रभाव जमाएका वाम शक्तिहरूले जिल्ला समन्वय समितिसम्म आफ्नो नेतृत्व स्थापित गरेका उदाहरण छन् ।

तर समयसँगै समीकरण फेरियो । कहिले कांग्रेससँग तालमेल गरेर सत्तामा पुग्ने, कहिले आफ्नै सहयात्रीविरुद्ध मोर्चाबन्दी गर्ने र कतिपय अवस्थामा एकअर्काविरुद्ध सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिने अवस्था पनि आयो । एउटै राजनीतिक धारका दलहरूबीचको दूरी बढ्दै जाँदा पछिल्लो निर्वाचनमा त्यसको असर देखिएको नेताहरूको बुझाइ छ ।

यही पृष्ठभूमिमा पछिल्लो सहकार्यलाई केवल चुनावी तालमेलका रूपमा नभई राजनीतिक सहकार्यको नयाँ सुरुवात बनाउने प्रयास भइरहेको बैठकका एक सहभागीले बताए ।

गलकोट बैठकले विगतमा भएका कमी–कमजोरीको समीक्षा गर्दै आगामी कार्ययोजनामा थप छलफल, सहकार्य र सहमति गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ ।

तीन दलबीचको पछिल्लो जमघटको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सहकार्यलाई चुनावको मुखमा गरिने तालमेलमा मात्र सीमित नगर्ने संकेत हो ।

बैठकमा भएका छलफललाई तीनै पार्टीबीच थप छलफल गरी जनहित र जनजीविकाका विषयमा बृहत् छलफल तथा साझा प्रस्ताव निर्माण गर्दै आगामी दिनमा संयुक्त रूपमा अगाडि बढ्ने सहमति भएको छ । यसका लागि पुनः बैठक बस्ने निर्णयसमेत गरिएको छ ।