काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी त्रिशूली बाढीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनएका नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।
शनिबार सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तहरूका लागि डीएनएको नमुना उपलब्ध गराइदिन आग्रह गरेको हो ।
‘नेपाल प्रहरीबाट भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका नागरिकहरूको डीएनए परीक्षण सबैभन्दा नजिकका रगतको नाता (बाबु,आमा,छोरा वा छोरी) भित्रको कोही एक जनाको नमुना संकलनको लागि सार्वजनिक सूचना प्रकाशित भएको छ,’ प्राधिकरणले भनेको छ ।
सबैभन्दा नजिकका आफन्तलाई आफ्नो दुईप्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । प्राधिकरणले नेपाली सेनालगायत प्राविधिक टोलीको सहयोगमा त्रिशूली थ्री ए मा उद्धारको प्रयास भइरहेको बताएको छ ।

