चण्डिकाको परिवार गर्दै थियो काजकिरिया, ११ औं दिनमा जीवितै उद्धार

दुई पटकसम्म खोजी गर्दा पनि नभेटिएपछि चण्डिकाको विष्णुमति नदी किनारको बिजेश्वरीमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनका सम्धी रमेशमान श्रेष्ठले जानकारी दिए ।

चण्डिकाको परिवार गर्दै थियो काजकिरिया, ११ औं दिनमा जीवितै उद्धार

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढी गएको ११ औं दिनमा शनिबार जीवितै उद्धार गरिएकी ६४ वर्षीया चण्डिका श्रेष्ठका परिवारले उनको काजकिरिया थालिसकेको थियो ।

दुई पटकसम्म खोजी गर्दा पनि नभेटिएपछि चण्डिकाको विष्णुमति नदी किनारको बिजेश्वरीमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उनका सम्धी रमेशमान श्रेष्ठले जानकारी दिए ।

कुशको शव बनाएर अन्तिम संस्कार गरेपछि सानोभर्‍याङस्थित घरमा चण्डिकाको काजकिरिया थालिएको थियो । काजकिरियाको काम चलिरहेकै बेला शनिबार उनको बेत्रावतीबाट जीवितै उद्धार गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई उनलाई शनिबार दिउँसो चारतले घरभित्र पुरिएको अवस्थामा जीवितै उद्धार गरेको हो ।

अहिले उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार चलिरहेको छ । परीक्षण र उपचार चलेकाले सेनाले उनका आफन्तलाई चण्डिकासँग भेट गर्न दिएको छैन ।

उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । विदुर नगरपालिका–१० बेत्रावती निवासी आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरको भग्नावशेषबाट जीवितै उद्धार गरेको गरेका थिए । उद्धारलगत्तै उनलाई सेनाको हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं पुर्‍याइएको हो ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको टोलीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा खोजी गरिरहेको थियो । सोही क्रममा आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगेपछि प्रहरीले घरभित्रबाट आवाज सुनेको थियो ।

प्रहरी निरीक्षक दर्नालका अनुसार पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाउ–बचाउ’ भन्ने आवाज सुनिएको थियो । त्यसपछि पर्खाल फुटाएर श्रेष्ठको उद्धार गरिएको हो ।