भोटेकोशीमा बाढी : १३ सय ४४ वटा शव फेला, २ हजार बढी डीएनए नमुना संकलन

बरामद भएका शवहरूमध्ये १ हजार ३० वटा शवलाई उचित प्रक्रिया पुर्‍याएर जमिनमा गाडी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

भोटेकोशीमा बाढी : १३ सय ४४ वटा शव फेला, २ हजार बढी डीएनए नमुना संकलन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४४ वटा शव र मानव अङ्गहरू फेला परेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार फेला परेका शवहरूको व्यवस्थापन र बेपत्ता भएकाहरूको पहिचानका लागि डीएनए संकलन कार्यलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

प्रहरीको खोज तथा उद्धार टोलीले संकलन गरेको विवरणअनुसार फेला परेका शवहरूमध्ये ४ सय ८९ जना पुरुष, २ सय ६९ जना महिला, ५२ जना बालक र ३३ जना बालिका रहेका छन् । यसका अतिरिक्त बाढीले क्षतविक्षत पारेका ५ सय १ वटा आंशिक मानव अङ्गहरू समेत फेला परेका छन् ।

बरामद भएका शवहरूमध्ये १ हजार ३० वटा शवलाई उचित प्रक्रिया पुर्‍याएर जमिनमा गाडी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

मृतकहरूको पहिचान खुलाउन र आफन्तको पहिचान सुनिश्चित गर्न डीएनए संकलन कार्यलाई तीव्र पारिएको छ । तथ्याङ्कअनुसार हालसम्म १ हजार २ सय ६० मृतक र मृतकका ९ सय ७२ जना आफन्तहरूको गरी कुल २ हजार २ सय ३२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

यस प्रक्रियाबाट बेपत्ता भएकाहरूको सनाखत गर्न र कानुनी प्रक्रिया सहज बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । बाढी प्रभावित क्षेत्रमा अझै पनि खोज र पहिचानको कार्य जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।