भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताए ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।

विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताए ।

“देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको छ”, उनले भने, “हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ । हाल देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।”

विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीसमेत चल्नसक्ने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक/दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ । अझै तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ