रसुवा बाढीमा बागलुङ १६ जना बेपत्ता : आफन्तको पर्खाइमा बाटो हेर्दै परिवार

भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन् ।

रसुवा बाढीमा बागलुङ १६ जना बेपत्ता : आफन्तको पर्खाइमा बाटो हेर्दै परिवार

बागलुङ । भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन् । कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन् ।

बाढीमा परेर सम्पर्कविहीन भएका १६ जनामध्ये अधिकांश परिवारिक आर्थिक अवस्था कमजोर छ । रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र नुवाकोटको त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएका बागलुङ नगरपालिकाका दुई जना इन्जिनियर र दुई बालबालिका गरी १६ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

तमानखोला गाउँपालिका ३ का वडाध्यक्ष झकबहादुर बुढाका अनुसार बाढीमा बेपत्ता भएका वडाका ५० वर्षीय दलप्रसाद बुढा र सञ्जय श्रीपालीमाथि परिवार पूर्ण रूपमा आश्रित थियो । दलप्रसादका नौ वर्षीय एक छोरा, एक छोरी र श्रीमती, २२ वर्षीय सञ्जयका आमाबाबा र भाइबहिनी उनीहरूमाथि आश्रित थिए । अहिले उनीहरूका परिवार बाटो कुरेर बसिरहेका वडाध्यक्षले बताए ।

वडाध्यक्ष बुढा दलप्रसाद र सञ्जयको उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासहित आफ्ना नागरिकको उद्धारका लागि रसुवा पुगेको वडाध्यक्ष झकबहादुरले आठौँँ दिनसम्म पनि खोजी जारी रहेको भन्दै सकुशल भेटिने आशा झिनो बन्दै गएको बताए ।

“आफन्त हराएकाले बाटो हेरिरहनुभएको छ, बाढीमा हराएकाहरू सकुशल भेटिने आशा अझै छ”, वडाध्यक्ष झकबहादुरले भने, “बाढीपछि बेत्तिा भएकाहरूका परिवार सम्झेर झनै चिन्तित हुन्छौँ । सबैको आर्थिक अवस्था कमजोर छ, सबैजना परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुग्नुभएको थियो । बिहान बेलुका छाक टार्न गाह्रो रहेको परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ ।”

तमानखोला २ बोङ्खानीका भीमबहादुर छन्त्याल र खड्कबहादुर छन्त्यालको परिवारिक अवस्था पनि उस्तै छ । श्रीमती, अपाङ्गता भएका बाबाआमा, छोरा, भाइबहिनीसहित ठूलो परिवार आश्रित रहेका ३७ वर्षीय भीमबहादुर बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ । त्यस्तै, ५२ वर्षीय खड्कबहादुको भरमा वृद्ध बाबाआमा, श्रीमती र छोराछोरीसहित परिवार चल्दै आएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताए ।

तमानखोलाको वडा नम्बर १ का मात्र तीन जना बाढीमा परेर बेपत्ता भएका छन् । करिब ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षीय इन्द्रकुमार विक र २२ वर्षीय विष्णु घर्तिमगर बेपत्ता छन् । पदमका श्रीमती १३ र सात वर्षका छोराछोरी छन् । इन्द्रका श्रीमतीसहित ११ र आठ वर्षका छोराछोरी र विष्णुका श्रीमती, छोरा, बाबाआमा र दाजु पनि उनमै आश्रित रहेको प्रशासकीय अधिकृत परियारले बताए ।

वडा नम्बर ४ का ५८ वर्षीय लाता कामीका ससाना दुई छोराछोरी र शारीरिक रूपमा कमजोर रहेकी श्रीमती हुनुहुन्छ । सोही वडाका भीमबहादुर विकका श्रीमती, तीन सन्तान, आमासहित भाइको परिवार समेत उहाँमा आश्रित रहेको वडाध्यक्ष छप्रसाद श्रीपालीले बताउनुभयो । आश्रित परिवारले अझै बेपत्ताको बाटो कुरिरहेका छन् ।

ढोरपाटन नगरपालिका४ का बेजेन्द्र घर्तीको पनि आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तिलक पुनले बताए । आर्थिक अवस्था कमजोर रहेका २३ वर्षीय घर्ती परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुगेका उनको भनाइ छ । ढोरपाटन ९ का २० वर्षीय तुलबहादुर सुनारको पनि परिवारको अवस्था उस्तै छ ।

एक हप्ता पहिलेमात्र मजदुरी गर्न रसुवाको अपर त्रिशूली हाइड्रोपावर पुगेका गलकोट नगरपालिका२ का २७ वर्षीय रमेश सुनार बाढीमा परेर बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको रमेशको परिवारमा वृद्ध बाबाआमा, श्रीमती, दुई छोराछोरी र भाइ छन् ।

मजदुरी गरेर परिवार पाल्दै आएका रमेश बेपत्ता भएपछि परिवार आत्तिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । “बाढीमा बेपत्ता भएको सात दिन बितिसक्यो, सकुशल भेटिने आशा मारेका छैनौँ,” वडाध्यक्ष भण्डारीले भने, “हामीले सोचेजस्तो रमेश सकुशल नभेटिए परिवारको विचल्ली हुन्छ ।”

बागलुङ नगरपालिका ९ तित्याङ्को एकै परिवारका चार जना बाढीमा बेपत्ता हुँदा परिवार शोकमा डुबेको छ । इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल उनका श्रीमती इन्जिनियर ३१ वर्षीय प्रमिला पाठक र दुई छोराछोरी चार वर्षका आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल बेपत्ता छन् ।