रसुवा बाढीमा मृत्यु भएका प्रति प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय

दिवंगत प्रहरीका सन्ततिहरूको शिक्षाका लागि आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालयमा र उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय, साँगा काभ्रेमा शिक्षण शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ ।

रसुवा बाढीमा मृत्यु भएका प्रति प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको बैठकले दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ । साथै, प्रभावित परिवारका एक जना इच्छुक सदस्यलाई सीपमूलक तालिम र रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ ।

दिवंगत प्रहरीका सन्ततिहरूको शिक्षाका लागि आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालयमा र उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय, साँगा काभ्रेमा शिक्षण शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ ।

बाढीमा परी हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गर्ने निर्णय गरिएको छ । खोजी कार्यमा परिवारका सदस्यहरूसँग निरन्तर समन्वय गरिनेछ । बैठकले घाइते प्रहरीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका प्रहरी इकाइहरू (इप्रका टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावती) मा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्री क्षति भए बापत जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने निर्णय पनि भएको छ ।

नेपाल प्रहरीले राष्ट्रिय विपदको यस घडीमा सरकारलाई सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । यो रकम प्रहरी कर्मचारीहरूको योगदानबाट संकलन गरिएको हो । समग्र प्रक्रियालाई सहजीकरण गर्न मानवस्रोत विकास विभागका एक जना सिनियर प्रहरी अधिकृतलाई ुसम्पर्क व्यक्तिु तोकिएको छ । उनले दिवंगत, बेपत्ता र घाइते प्रहरीका परिवारलाई सेवा सुविधा र उपचार प्राप्तिमा सहयोग गर्नेछन् ।