काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोका कारण सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य सामग्री हटाएर उद्धार तथा खोजी कार्य अघि बढाउन तीन–चार महिनासम्म लाग्न सक्ने नेपाली सेनाका अधिकारीले बताएका छन्।
धुन्चे उत्तरको फिल्ड अपरेसन कमाण्डको जिम्मेवारी लिएका उज्वलविक्रम राणाले त्यहाँको वस्तुस्थितिबारे जानकारी दिँदै सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेकाले दुई–तीन दिनमै सबै सामग्री हटाएर सहज रूपमा उद्धार गर्न सकिने अवस्था छैन । सुरुङभित्र जमेको सामग्रीको मात्रा र अवस्थालाई हेर्दा त्यसलाई पूर्ण रूपमा हटाउन तीनदेखि चार महिनासम्म पनि लाग्न सक्ने उनको आकलन छ।
‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै हुन सक्ने सम्भावना देख्दिनँ। त्यसलाई तीनदेखि चार महिनामा पनि निकाल्न नसकिने अवस्था मैले आफैंले देखेको छु,’ उनले भने।
उनका अनुसार जिम्मेवारी क्षेत्रभित्र जलविद्युत् आयोजनाका चारवटा सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्य अघि बढाउन कठिन भएपछि काम रोकिएको छ।
सुरुङको तल्लो भागसम्म पानी तथा अन्य सामग्री भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नदेखिएपछि सम्बन्धित आयोजनाको इन्जिनियरसँगको समन्वयमा उक्त काम बन्द गरिएको उनले बताए।
चिलिमे आयोजनाको सुरुङमा भने उद्धार तथा खोजी कार्य जारी छ। त्यहाँ अझै पनि कोही जीवित व्यक्ति भेटिन सक्ने आशामा टोली परिचालन गरिएको सेनाले जनाएको छ।
लाङटाङतर्फको सुरुङमा पनि सेना ६४ मिटरसम्म प्रवेश गरेको थियो। त्यसपछि सुरुङ साँघुरिँदै गएर मानिस छिर्नसमेत कठिन हुने अवस्था देखिएपछि थप अगाडि जान नसकिएको अधिकारीले बताए।
सुरुङभित्र करिब दुई फिटसम्म मात्र खाली ठाउँ रहेको र घिस्रिएर जानुपर्ने अवस्था रहेकाले थप जोखिम बढेको उनको भनाइ छ।
यसैगरी २१६ नम्बरको सुरुङमा पनि आजदेखि पुनः उद्धार प्रयास थालिएको छ। यसअघि पाँच पटकसम्म प्रवेशको प्रयास गरिए पनि सुरुङभित्र छातीसम्म आउने गरी जमेको सामग्रीका कारण टोली अघि बढ्न सकेको थिएन।
बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र टिमुरे र स्याफ्रुबेंसी रहेको सेनाको भनाइ छ। नदी तथा खोलाको बहावले कतिपय क्षेत्रमा पाँच मिटरसम्मको तहमा क्षति पुर्याएको र स्याफ्रुबेंसीमा आधाभन्दा बढी बस्ती बगाएको अवस्थामा देखिएको अधिकारीले बताए। टिमुरेमा समेत ठूलो क्षति पुगेको छ।
सडक तथा अन्य सञ्चार सम्पर्क विच्छेद भएकाले प्रभावित क्षेत्रमा आवतजावतका लागि हाल हवाई उद्धार नै प्रमुख माध्यम बनेको छ।

