बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)

मुगु-गमगढी सडक खण्डको ताल्चामा पहिरो खसेका कारण यातायात ठप्प छ। बैतडीको गोठालापानी-झुलाघाट सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ।

बाढी र पहिरोका कारण  अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य सडक खण्डहरूमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ-७ स्थित कृष्णभिर र गजुरी २ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बेनीघाट रोराङ १० को ज्वाडु खोला र थाक्रे-२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।

बीपी राजमार्गको काभ्रेको खुर्कोटनेपालथोक सडक खण्डमा बाढीको उच्च जोखिम रहेका कारण सुरक्षा सतर्कता अपनाउँदै साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म भने अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ।

पासाङ ल्हामु सडक खण्डको सिटारमा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, विदुर-लाच्याङ सडक र टोखा-छहरे सडक खण्ड पनि पहिरो र बाढीका कारण प्रभावित भएका छन्। रसुवाको उत्तरगया-५ खाल्टेमा बाढी आउँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको छ।

लमजुङको बेसीसहर-मनाङ सडक अन्तर्गत खर्करे भिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगु-गमगढी सडक खण्डको ताल्चामा पहिरो खसेका कारण यातायात ठप्प छ। बैतडीको गोठालापानी-झुलाघाट सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ।