सरकारीमा नाम निकालेर पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बाढीमै बिलाए

आयुषको अन्त्येष्टि भइरहँदा आमा र बहिनी आयुषा अर्धमूर्च्छित भएका थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए ।

सरकारीमा नाम निकालेर पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बाढीमै बिलाए

चितवन । सल्यानका २१ वर्षीय आयुष खड्का स्नातक तहको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि यही वर्ष वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाए ।

बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा उनको अन्त्येष्टि गरिएको छ । शव बिग्रने अवस्था र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए ।

बागचौर नगरपालिका–१०, पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौं आउने योजनामा थिए । त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजना बनाएका थिए । दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे ।

आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन् ।

आयुषको अन्त्येष्टि भइरहँदा आमा र बहिनी आयुषा अर्धमूर्च्छित भएका थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए ।