रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन

बाढीमा परी घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।

रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीमा परि मृत्यु हुनेको संख्या ९०३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका सम्बन्धमा पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

२०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको तथ्यांक अनुसार बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्राप्त विवरण अनुसार सबैभन्दा धेरै मानवीय क्षति चितवनमा २७२ जना, नवलपरासी पूर्वमा २०७ जना र नवलपरासी पश्चिममा १५१ जनाको भएको छ । यस्तै नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

विपद्का कारण अझै करिब ४ हजार २४७ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा सुरक्षाकर्मी, जलविद्युत आयोजनाका ९३३ कर्मचारी, ५९२ विदेशी पर्यटक र उनीहरूसँगै भ्रमणमा गएका १२७ नेपालीहरू रहेका छन् । रसुवा र नुवाकोट जिल्लाबाट मात्रै ठूलो संख्यामा नागरिकहरू हराइरहेको विवरण प्राप्त भएको छ ।

बाढीमा परी घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।

उद्धार कार्यलाई तीव्रता दिँदै हालसम्म १० हजार ४५१ जनाको सुरक्षित उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरिएको छ ।

उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान भरिएको छ, जसमा आज मात्र १७ वटा उडान भएका छन् । भदौ १४ गते मात्रै हाइड्रोबाट १५ चिनियाँ र ७ भारतीय नागरिकको उद्धार गरिएको थियो ।

राहत र उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी कुल २० हजार ८११ जना सुरक्षाकर्मीहरू कार्यक्षेत्रमा खटिएका छन् ।

नेपाल सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रभावित १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ बराबरको नगद राहत प्रदान गरिएको छ ।

भौतिक राहततर्फ ३७ ट्रक र ३५ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । रसुवाको उत्तरगया र धुन्चेमा २ टन खाद्यान्न हेलिकप्टरबाट पुर्‍याइएको छ भने प्रभावित क्षेत्रमा ५ वटा पोर्टेबल जेनेरेटर, औषधि र स्वास्थ्य सामग्री समेत परिचालन गरिएको छ ।

हाल प्रभावित क्षेत्रमा २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।

पहिचान खुल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ । प्राधिकरणले मृतकको विस्तृत विवरण र पहिचानका लागि आफ्नो फेसबुक पेज तथा नेपाल प्रहरीको वेबसाइट हेर्न आग्रह गरेको छ ।