शव व्यवस्थापनबारे सरकारलाई ‘फोकटको सल्लाह’ दिएका प्रदेश सचिवको टिमुरेमा सरुवा

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलाले ‘फोकटको सुझाव’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

शव व्यवस्थापनबारे सरकारलाई ‘फोकटको सल्लाह’ दिएका प्रदेश सचिवको टिमुरेमा सरुवा

काठमाडौं । रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बिषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ ।

उनलाई शव व्यवस्थापनकै जिम्मेवारी बोक्ने गरी रसुवामा सरुवा गरिएको हो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलाले ‘फोकटको सुझाव’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

त्यसमा उनले सनाखत नभएका शवहरुबाट ‘डीएनए’ लिएर माटोमा पुरिएको बिषयमा आलोचना गरेका छन् । त्यसको भोलिपल्टै उनलाई बाढीग्रस्त जिल्ला रसुवामै शव व्यवस्थापन गर्ने जिम्मेवारीमा खटाइएको हो ।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मा दिएकी हुन् ।