भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्य

भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्य

रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिए ।

ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटबाट धेरै माथि रहेका धुञ्चेवासीसमेत माथिल्तिर अवस्थित अस्पताल क्षेत्र तथा खेलमैदानमा एकीकृत भई बसेका थिए । अहिले पानीको बहाव घट्न थालेसँगै स्थानीयवासी आआफ्नो घरतर्फ लागेका छन् ।

बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरेको र नुवाकोट प्रशासनले सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारीप्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।

यसैबीच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढीप्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको र पुनः बाढीपछिको क्षतिको विवरण प्राप्त नभएको उनले जानकारी दिए ।