चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार चितवनमा सङ्कलित शव जमिनमा गाड्ने गर्ने तयारी गरिएको छ । शव गाड्नका लागि भरतपुर महानगरपालिका १ देवघाटको जङ्गलमा खाल्डो खन्ने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलाका अनुसार आइसिआरसीको मापदण्डअनुसार लामो खाल्डो खन्नुका साथै बीचमा ४० सेन्टिमिटर फरकमा शव राखिने गरी तयारी भइरहेको छ । आज दिउँसो ४ः०० बजेसम्ममा शव जङ्गल लैजाने गरिएको छ । उनका अनुसार शवलाई सुताएर राखिने छ । शवको पहिचानका लागि शवसँग भुइँमा र माथि सङ्केत राखिनेछ । माथि फलामको ‘स्टेण्ड’ राखेर सङ्केत दिइने उनले जानकारी दिए ।
अन्तरराष्ट्रिय मापदण्डअनुसार शवको पहिचान, अभिलेखीकरण र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिइने रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले बताए । शव गाडिएको स्थानलाई पछि परिवारलाई जानकारी दिन वा पहिचान प्रक्रिया अघि बढाउन सकिने गरी स्पष्ट रूपमा चिन्ह लगाएर अभिलेखित गरिने उनले बताए ।
उनका अनुसार यदि कुनै शवलाई तुरुन्तै हस्तान्तरण गर्न नसकिने भएमा, सुरक्षित र सम्मानजनक रूपमा तोकिएको स्थानमा खाल्डो खनेर राम्रोसँग राखिनुपर्छ र त्यसको स्थान, सम्भव भएसम्म फोटो, पहिचानको विवरण र स्थानको स्पष्ट अभिलेख राख्नुपर्छ भन्ने अन्तरराष्ट्रिय रेडक्रसको मापदण्ड छ ।
हालसम्म जिल्लामा २३३ वटा शव फेला परेका छन् । तीमध्ये छ वटा मात्रै सनाखत भएका छन् । बाँकी भरतपुर अस्पताल र अस्थायी शवगृहमा राखिए पनि शव कुहिन थालेकाले स्वास्थ्य जोखिम बढ्नसक्ने प्रहरी उपरीक्षक पौडलले बताउनुभयो । यससँगै पहिचान गर्न कठिन हुने भएपछि शवको डिएनए नमुना लिएर शव समाधिस्थ गर्न लागिएको हो ।
जिल्ला सुरक्षा समितिको आजको बैठकले शव समाधिस्थ गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको हो । त्रिशूली र नारायणी नदीमा भेटिएका शव यहाँ ल्याइएको हो ।
मृतकका आफ्न्तले कसरी पाउँछन् शव ?
बेपत्ता भएका व्यक्तिका आफन्तले आफ्नो सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा गएर आफ्नो डीएनए नमुना दिनुपर्नेछ। उक्त नमुना चितवनमा सङ्कलन गरेर राखिएको बेवारिसे शवको डीएनएसँग म्याच खाएमा प्रहरीले आफन्तलाई खबर गर्नेछ।
डीएनए मिलेपछि आफन्तहरू चितवन आएर सङ्केत नम्बरका आधारमा आफ्नो मान्छेको शव गाडिएको स्थान सजिलै पहिचान गर्न सक्नेछन्। त्यसपछि प्रहरीकै रोहवरमा उक्त शव खनेर निकालेर ससम्मान अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइने एसपी पौडेलले प्रष्ट पारेका छन्।
प्रशासनले बाध्यात्मक परिस्थितिका कारण शवहरू गाड्नुपरेको स्पष्ट पार्दै यस विषम परिस्थितिमा सहयोग र समन्वय गर्न सबैमा अनुरोध गरेको छ।

