काठमाडौं । भोटेकोसी बाढी प्रभावितका लागि राहत सामग्री बोकेर चीनबाट दुई वटा सैन्य कार्गो विमान नेपाल आउन लागेका छन्।
चिनियाँ सैन्य कार्गो विमान आज शनिबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘आजै दुई वटा विमान राहत बोकेर नेपाल आउन लागेका छन्,’ परराष्ट्र मन्त्रालयले स्रोतले भन्यो।
परराष्ट्र मन्त्रालयसँगको समन्वयमा चिनियाँ शैन्य कार्गो विमान आउन लागेका हुन्। त्यस्तै, चीनले सुरुङ उद्धार तथा प्राविधिक कार्यका लागि विशेषज्ञ टोली पनि पठाउने भएको छ। दुई वटा विशेषज्ञ टोली आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
भोटेकोसीको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ११ वटा जलविद्युत आयोजनामा कार्यरत नौ सय जना सम्पर्कविहीन भएका छन्। उनीहरू जलविद्युत आयोजनाको सुरुङमा फसेको आकलन गरिएको छ। त्यसैका लागि चिनियाँ विशेषज्ञ टोली आउन लागेको जनाइएको छ।
यससँगै चीनले भोटेकोसी बाढी प्रभावितका लागि २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने भएको छ। यसबारे चीनले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ।

