काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न सडकहरू अवरुद्ध छन् ।
उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड बाढीले असर पुर्याएपछि कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीले क्षति पुर्याएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।यसका साथै रसुवाका अन्य सबै मुख्य राजमार्गहरू पनि पूर्ण रूपमा बन्द रहेका छन् ।
बागमती प्रदेशका कतिपय राजमार्गहरूमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रेस्थित बि।पि। राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन निषेध गरिएको छ भने दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र यातायात सुचारु गरिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा–ठिङ्गन–ललितपुर सडक खण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म र नुवाकोटको टोखा–छहरे सडक खण्डको घट्टेखोला क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
यस्तै, कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक खण्ड) पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ यात्रीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न सूचित गरिएको छ ।
प्रहरीले सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणमा अनुरोध गरेको छ ।

