रसुवामा बाढी : ४६९ जनाको मृत्यु, ९७७ बेपत्ता, साढे ९ हजार सुरक्षाकर्मी परिचालन

बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी तथा कर्मचारीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन्।

रसुवामा बाढी : ४६९ जनाको मृत्यु, ९७७ बेपत्ता, साढे ९ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । रसुवाको बाढीमा परेर ४६९ जनाको ज्यान गएको छ भने ९७७ जना अझै बेपत्ता भएका छन् । गृहमन्त्रालयका अनुसार विभिन्न स्थानबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ, जसमध्ये सबैभन्दा बढी चितवनमा १७८ जना, नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिममा २७ जना र रसुवामा १२ जना रहेका छन्। विपद्‌मा परी ७३ जना घाइते भएका छन्, जसमा रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन्। हालसम्म ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको छ ।

उद्धार र खोजी कार्य जारी रहे तापनि हालसम्म ९७७ जना सम्पर्क विहीन रहेको गृहमन्त्रालयले जनाएको छ । बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी तथा कर्मचारीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन्। त्यसैगरी जिल्लास्तरीय विवरण अनुसार रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना नागरिक सम्पर्क विहीन छन् भने ५१७ जना विदेशी नागरिक तथा नेपाल घुम्न आएका १२७ जना गैरआवासीय नेपाली नागरिक पनि बेपत्ता रहेका छन्।

विपद्‌पछि प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन कुल ९,४०५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमध्ये नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना सुरक्षाकर्मी उद्धार मैदानमा खटिएका छन्। हवाई उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्।