काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १६५ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवरपरासीमा शवहरू फेला परेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हालसम्म धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २६, तनहुँमा नौ, चितवनमा ६४ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा पाँच शव फेला परेका छन् ।
बाढीमा परी ७३ जना घाइते भएका छन् । रसुवमा ४३, धादिङमा तीन र नुवाकोटमा २७ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।
भोटेकोसी र नुवाकोटको त्रिशूली नदीमा आएको बाढीमा परी ८६० जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३ कर्मचारी छन् ।
यस्तै, १९६ जना नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् आयोजनाका कर्मचारी र ५७९ स्वदेशी तथा विदेशी पर्यटक छन् । सम्पर्कविहीन हुने पर्यटकमा ४६६ विदेशी र ११३ जना नेपाली रहेका प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म हेलिकोप्टरमार्फत २३९ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत २११ जनाको उद्धार गरिएको छ । निजी क्षेत्रको हेलिकोप्टरमार्फत २८ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
रसुवाको टिमुरेबाट १२३ जनालाई हवाई उद्धर गरिएको छ । उनीहरूमध्ये ९४ नेपाली र २९ विदेशी नागरिक छन् ।
बुधबार बिहानदेखि सुरु भएको खोज तथा उद्धार कार्य बिहीबार पनि चलिरहेको छ । खोज तथा उद्धारमा सात हजार ४१५ जना सुरक्षाकर्मी परिचालित छन् । नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका दुई हजार ३५५ र सशस्त्र प्रहरी बलका एक हजार ७४२ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका प्राधिकरणले जनाएको छ ।
बाढीबाट ३५ मोटरेबल पुल, ४५ झोलुंगे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी रहेको प्राधिकरणले जनाएको छ ।
भदौ १० गते बिहान ८ः४० बजे नेपाल–चीन सिमाना ९रसुवागढी नाकाबाट करिब २० किमि उत्तरपूर्व०मा खसेको हिम–चट्टान पहिरोका कारण तिब्बतको ल्हेन्दे खोलामा गेग्य्रानसहितको ठूलो बाढी आएको थियो ।
तिब्बततर्फबाट भोटेकोसी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी भएर त्रिशूली नदीमा प्रवेश गर्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय क्षेत्रमा गम्भीर जोखिम र संकटपूर्ण अवस्था सिर्जना भएको थियो ।
बाढीका कारण नदीतटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विपद्पश्चात् खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका एक दर्जनभन्दा बढी हेलिकोप्टर परिचालित छन् ।
घाइतेहरूको उपचारका निम्ति नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहितका टोली खटाइएको छ ।
प्रभावित क्षेत्रका बाढीपीडितहरूका निम्ति नेपाली सेनाको नजिकैको ब्यारेकमा तत्कालका लागि अस्थायी बसोबास, खानेकुरा, सफा खानेपानी र औषधिको प्रबन्ध गरिएको प्राधिकरणले जनाएको छ ।

