काठमाडौं । अमेरिकी सरकारले रसुवाको बाढीबाट प्रभावित क्षेत्रका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
अमेरिकी दूतावासले मिडिया नोट जारी गर्दै ५ लाख अमेरिकी डलर उपलब्ध गराउने जानकारी दिएको छ।
‘विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेससँगको आफ्नो विश्वव्यापी सहायता कार्यक्रममार्फत ५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने छ। उक्त सहयोग बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता प्रदान गर्न प्रयोग गरिनेछ,’ नोटमा भनिएको छ।
यस घटनालाई दूतावासले नजिकबाट निगरानी गरिरहेको पनि बताएको छ। साथै एक जना सल्लाहकारलाई प्रभावित क्षेत्रमा समेत पठाउन लागिएको छ।
प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई लोकेट गर्न र उद्धार गर्नका लागि प्रयास भइरहेको पनि बताएको छ।

