भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो, ६३ जना उपचाररत

नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेकोछ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो।

जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ ।

प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३, ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २८ जना प्रहरी सम्पर्कबिहीन छन् ।