रसुवा बाढीमा ३८४ पदयात्री सम्पर्कविहीन, २९१ विदेशी र ९३ नेपालीको अवस्था अज्ञात

नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति अद्यावधिक अनुसार सम्पर्कविहीन भएकाहरूमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् ।

रसुवा बाढीमा ३८४ पदयात्री सम्पर्कविहीन, २९१ विदेशी र ९३ नेपालीको अवस्था अज्ञात

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान ८ः३० बजे आएको आकस्मिक भीषण बाढीका कारण हालसम्म ३८४ जना पदयात्री तथा पर्यटकहरू सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति अद्यावधिक अनुसार सम्पर्कविहीन भएकाहरूमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् । नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरूले विभिन्न १० वटा ट्राभल एजेन्सीहरूसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको यकिन अवस्था र सुरक्षा स्थितिको जानकारी लिने र प्रमाणीकरण गर्ने कार्य तीव्र पारेका छन्।

पर्यटन बोर्डले सार्वजनिक गरेको एजेन्सीगत विवरण अनुसार ट्रेकर्स सोसाइटीका ९२ जना (७७ विदेशी र १५ नेपाली), सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना (५९ भारतीय र १२ नेपाली), र लीफ होलिडेका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन्।

हिमालयन ग्लेशियरका ५२ जना (३७ गैर आवासीय नेपाली र १५ नेपाली), कैलाश जर्नीका ३१ जना (२६ विदेशी र ५ नेपाली), र फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना (२० विदेशी जसमा ३ अमेरिकी र १७ मलेसियाली छन्, र ७ नेपाली) को अवस्था अज्ञात छ।

अल्पाइन इको ट्रेकका २० जना (१६ विदेशी जसमा १२ बेलायती र ४ दक्षिण अफ्रिकी छन्, र ४ नेपाली), काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना (२ विदेशी जसमा १ अष्ट्रेलियाली र १ नेदरल्याण्डका छन्, र १५ नेपाली), ऋचा टुर्स एन्ड ट्राभल्सका १२ जना (८ विदेशी र ४ नेपाली) तथा एक्सप्लोर भ्याकेसनका ७ जना नेपाली पदयात्रीहरू पनि हालसम्म सम्पर्कमा आएका छैनन्।

पर्यटन बोर्डले यी तथ्यांकहरूलाई गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँगको समन्वयमा थप स्पष्ट पार्ने र खोजतलास गर्ने काम गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका सबै पर्यटकहरूलाई शान्त रहन, आधिकारिक सूचनाहरूको प्रतीक्षा गर्न र सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न बोर्डले आग्रह गरेको छ।

आपत्कालीन सहयोगका लागि सरकारले निःशुल्क नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ उपलब्ध गराएको छ।

बाढीका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार र सूचना संकलनमा चुनौती थपिए पनि प्रभावितहरूका बारेमा कुनै पनि जानकारी भएमा तुरुन्त नजिकैको सुरक्षा निकाय वा सम्बन्धित एजेन्सीमा खबर गर्न अनुरोध गरिएको छ।