काठमाडौं । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवा भन्सार कार्यालयमा कार्यरत ४० मध्ये १४ जना कर्मचारी सम्पर्कविहीन छन्।
भन्सार विभागका अधिकारीहरूले काठमाडौंबाट निरन्तर सम्पर्क गर्दा ४० जनामध्ये २६ जना सम्पर्कमा आएको बताए। सम्पर्कविहीन रहेका बाँकी कर्मचारीको खोजी जारी रहेको विभागले जनाएको छ।
'अहिलेसम्म हामीले २६ कर्मचरीसँग सम्पर्क गरिसकेका छौँ। अरूसँग सम्पर्क गर्ने प्रयास जारी छ,' विभागका महानिर्देशक यमलाल भुसालले भने।
बिहान ८ बजे आसपास चीनको तिब्बत क्षेत्रबाट आएको ठूलो बाढीले टिमुरे भन्सार कार्यालयका सम्पूर्ण संरचना बगाएको विभागले जनाएको छ। बाढीका कारण आसपासको क्षेत्रमा पनि ठूलो भौतिक क्षति भएको छ।

