काठमाडौं । भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढी र यसबाट रसुवा, नुवाकोटलगायत क्षेत्रमा पुगेको क्षतिप्रति सरकारले तीव्र गतिमा उद्धार तथा राहत कार्य अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै प्रभावित क्षेत्रमा सरकारको तर्फबाट चालिएका आपत्कालीन कदमहरूको विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई पूर्ण रूपमा परिचालन गरिएको छ भने अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ मुभ भइसकेको छ।
विपद् व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय बनाइएको छ। मेडिकल टिम, नेपाल स्काउट र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। त्यसैगरी, प्रभावित क्षेत्रमा अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ।
तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला अधिकारीहरूलाई कडा निर्देशन दिइएको उनले उल्लेख गरेका छन् । जोखिममा रहेका नागरिकहरूलाई एसएमएस र कलमार्फत जानकारी गराउँदै सुरक्षित स्थानतर्फ जान एलर्ट गरिएको छ। सम्भावित उद्धार तथा राहत कार्यलाई मध्यनजर गर्दै सरकारी र निजी सबै हेलिकप्टर कम्पनीहरूलाई स्ट्यान्डबाइमा रहन जानकारी गराइएको छ।
आपत्कालीन परिस्थितिबारे आगामी आवश्यक कदमहरू थप प्रभावकारी ढङ्गले चाल्न केही बेरमै उच्चस्तरीय बैठकसमेत बोलाइएको उनले उल्लेख गरेका छन् ।
सरकारले सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। यदि आफन्तहरूसँग सम्पर्क नभएमा सरकारी निकायहरूको रेस्क्यु अपडेट कुर्न अनुरोध गरिएको छ। साथै, अन्य थप जानकारी तथा राहतसम्बन्धी सहायताका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

