काठमाडौं । काठमाडौं महानगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका युवा इन्जिनियर र आर्किटेक्टहरूका लागि ‘करियर क्याम्प २०८३’ कार्यक्रम अन्तर्गत आवेदन आह्वान गरेको छ ।
महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले एक सूचना जारी गर्दै कुल २२ जना प्रशिक्षार्थी जनशक्ति माग गरेको हो । सूचना अनुसार सिभिल इन्जिनियरिङतर्फ ११ जना र आर्किटेक्चरतर्फ ११ जना प्रशिक्षार्थी छनोट गरिनेछ ।
छनोट भएका उम्मेदवारहरूलाई ४ महिनाको पूर्णकालीन प्रशिक्षार्थीका रूपमा काममा लगाइनेछ । यस अवधिमा प्रशिक्षार्थीहरूले महानगरपालिकाद्वारा सञ्चालित आयोजनाहरूको संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्ने तथा निर्माणाधीन कार्यहरूको सुपरिवेक्षण र प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष सहभागी हुन पाउनेछन् ।
महानगरले प्रशिक्षार्थीहरूलाई प्रोत्साहन स्वरूप मासिक २५ हजार रुपैयाँ सेवा सुविधा ९भत्ता० उपलब्ध गराउने जनाएको छ । युवा जनशक्तिलाई व्यावहारिक सीप, दक्षता र व्यावसायिक अनुभव प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक र न्यूनतम स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (भदौ १० गते) ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदनका लागि महानगरपालिकाको आधिकारिक वेबसाइटमा रहेको लिङ्क वा विज्ञापनमा उपलब्ध गराइएको क्यूआर कोड मार्फत अनलाइन फारम भर्न सकिनेछ ।

