काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का नापी सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध तीन करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार (भदौ ९) सजायका लागि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दामा साहकी पत्नी सुमिन्त्रादेवी साहलाई पनि प्रतिवादी कायम गरिएको छ ।
साहले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४६ वैशाखदेखि २०८१ जेठसम्मको अवधि गणना गरी अनुसन्धान गर्दा भ्रष्टाचार पुष्टि भएको दाबी अख्तियारले गरेको छ । साहको आय, खर्च, लगानी तथा सम्पत्ति सिर्जनाको अनुसन्धान गरिएको थियो ।
अभियोग दाबीअनुसार साहको पारिश्रमिक तथा भत्ता बचत, घरजग्गा र सेयर बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, बिमा, कृषि, छात्रवृत्ति, ब्याज, सुन बिक्री लगायतबाट कुल ६ करोड तीन लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय देखिएको छ ।
जग्गा, सेयर तथा सवारीसाधन खरिद, बिमा प्रिमियम, अध्ययन खर्च, ऋण भुक्तानी, बैंक मौज्दात, सापटी तथा लगानी र जग्गासम्बन्धी कमिसनसहित नौ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी भएको तथ्य खुलेको अख्तियारले जनाएको छ ।
साहको आय र व्ययको तुलना गर्दा तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसाको स्रोत पुष्टि हुन नसकेपछि भ्रष्टाचार मुद्दा चलाइएको हो । साहले पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिएको अख्तियार दाबी छ । वास्तविक सम्पत्ति लुकाएर झुटो विवरण पेस गरेको अनुसन्धानबाट पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय माग गरिएको छ ।
अख्तियारले साहविरुद्ध तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी कैद र बिगोबमोजिम जरिबानाको माग अदालतसमक्ष गरेको छ ।
अनुसन्धानबाट गैरकानुनी ठहर भएको साह र उनको पत्नीका नाममा रहेको सम्पत्ति जफत गर्न समेत माग गरिएको छ । साहकी पत्नीविरुद्ध सम्पत्ति लुकाउन छिपाउन मतियारको भूमिका खेलेको आरोप छ ।
गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको केही सम्पत्ति साहकी श्रीमतीका नाममा खरिद तथा लगानी भएको अख्तियारको दाबी छ ।

