बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदैछन्। प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।
हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री थापाको पक्षमा एमालेका २४ सांसदको मत मात्र सुनिश्चित छ। सभामुख पद रिक्त रहेकाले बैठकको अध्यक्षता उपसभामुखले गरिरहेकी छन्। संविधानको धारा १८६ अनुसार अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्न नपाउने भएकाले एमालेका २५ सांसदमध्ये उपसभामुखको मत गणना हुनेछैन।
नेकपाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ। एमाले र नेकपाका सबै सांसदले दलको निर्देशन मानेर मत दिए पनि ५० मत मात्र पुग्नेछ। बहुमतका लागि थप तीन मत आवश्यक पर्ने हुनाले राप्रपाको भूमिका निर्णायक बनेको छ।
राप्रपाले विपक्षमा मतदान गर्न निर्देशन दिए पनि सो पार्टीका तीन जना सांसद अहिले पनि मन्त्रीका रूपमा सरकारमा सहभागी छन्। साथै पार्टीले संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। यस्तो अवस्थामा राप्रपाका केही सांसदले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सम्भावना बलियो छ।
राप्रपा सांसद भुवन पाठकले पार्टीको ‘ह्विप’ उल्लङ्घन गरी मुख्यमन्त्रीलाई मत दिने सांसदलाई अनुशासनको कारबाही हुने बताएका छन्। आन्तरिक विवादमा कानुनी उपचार खोजिँदै गर्दा सोमबारको मतदानमा केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्ने उनको पनि भनाइ छ।
उता एमाले सांसद केशवप्रसाद पोखरेलले राप्रपाका मन्त्रीहरू र दलका नेतासहित सात जनाले मुख्यमन्त्रीलाई मत दिने दाबी गरेका छन्। राप्रपाका चारदेखि सात जना सांसदले ‘फ्लोर क्रस’ गर्दा आवश्यक बहुमत पुग्ने र अधिकतम ५६ मत प्राप्त हुने पोखरेलको अनुमान छ।
यसैबीच प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना ३६ जना सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरिसकेको छ। यसैगरी तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र दुई सांसद रहेको हाम्रो नेपाली पार्टी पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा सकारात्मक देखिएका छैनन्।

